हर्षाेल्लासका साथ सम्पन्न मधेसमा सामा चकेवा 

खबर बुक
  • ख-
  • ख+

सप्तरी, २२ कात्तिक । सप्तरीसहित मधेश प्रदेशमा हर्षाेल्लासका साथसामा चकेवा पर्व मनाइएको छ । मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि छठ पर्वकै दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म दाजुभाइ दिदी बहिनीसँग जोडिएको सामा चकेवा पर्व भव्यताका साथ सोमबार सम्पन्न भएको हो ।

दाजुभाइलाई दिदीबहिनीहरूले आशिषका गीत महिमा गाएर सामा चकेवा सम्पन्न गर्ने चलन छ ।‘सामा खेल गेलिह हौ भैषा चखेवा ल्याई गेल चोर, हमर भैया जुगजुग जीवत भौजोक बढ्त अहिवात’ लगायतका गीत गाउने चलन छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चखेवा सतभैया, भमरा बृन्दावन लगायत दही चिउरा बाँसको चँगेरीमा हालेर टाउकोमाथि राखेर दिदीबहिनीहरु खोला तलाउको छेउमा राति अबेरसम्म गीत गाएर दाजुभाइलाई आशिष दिने चलन छ ।

दाजुभाइ दिदीबहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामा चकेवा पर्व  मधेसका दिदीबहिनीले महत्त्वका साथ मनाउँछन् । छठ पर्वदेखि नै तराईका घरघरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती, महिला, बृद्धाहरू समूहमा बसेर दाजुभाइ दिदीबहिनीसँग जोडिएको गीत गाउन व्यस्त देखिन्थ्ये ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न आकृतिको मूर्ति बनाउने, बनाउन नसकेकाहरूले बजारबाट किनेर ल्याएको मुर्ति ढक्कीमा राखेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ । द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको कामना गर्दै सामा पर्व मनाइएको मान्यता अनुरुप अहिले पनि रहेको छ ।

माटो, जुट, करजन्नी लागयतका स्थानीय उत्पादनबाट बनाएका प्रतिमालाई पूणिर्माको राति दाजुभाइले भाँचेर खेतमा नदी पोखरीको डिलमा सेलाइएको छ । दाजुभाइ–दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरिने यस पर्वलाई मिथिलाका दाजुभाइ दिदी बहिनीले भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने चााडका रुपमा समेत लिने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्