सुदूरपश्चिममा केन्द्रको सहमतिअनुसार नै सरकार बन्छः एमाले

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २ वैशाख ।  नेकपा एमालेले केन्द्रको सत्तासमिकरण अनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने बिषयका केहि जिज्ञासा खडा भएपनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने धारणा राख्नुभयो । संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उहाको भनाइ छ ।

ज्ञवालीले सरकारबाट अप्रत्यासित हट्नुपर्दाको प्रतिशोध स्वरुप कांग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समितिको माग गरेको तर्क गर्नुभयो । सचिवालय बैठकले बैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डा तय गरेको छ ।

२१ सय ५३ महाधिवेशन प्रतिनिधि र बिभिन्न आयोगका पदाधिकारी सहित २५ सय सहभागी हुने बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठानीक प्रतिवेदन पेश गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधि परिषदको बैठकबाट आगामी चूनावमा पार्टीलाई बहुमत ल्याउने गरि तयारी गर्न आवश्यक निर्णय हुने एमालेले जनाएको छ । बैठकले नयाँ समिकरण र सरकारको कामकारवाहीका बारेमा छलफल भएको र सरकारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको ज्ञवालीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्