भारतमा किसान आन्दोलन चर्कियो, एकजनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भारतको पञ्जाब र हरियाणाको सीमा क्षेत्र खनौरीमा बुधबार एक किसानको मृत्यु  भएको छ ।

किसान संगठन र सरकारी चिकित्सकले आन्दोलनका क्रममा एक किसानको मृत्यु भएको पुष्टि गरेको छ ।

तर, हरियाणा प्रहरीले सामाजिक सञ्जालमा ‘किसान आन्दोलनमा कुनै पनि किसानको मृत्यु नभएको’ र त्यस्तो कुरा हल्ला मात्रै भएको भनेर लेखेको छ ।

दिल्ली छिर्ने मुख्य विन्दुका रूपमा रहेको शम्भु सीमा क्षेत्रमा पनि बुधबार दिउँसो सुरक्षाकर्मीले किसानमाथि अश्रुग्यास प्रहार गरेको छ । खनौरी र शम्भु सीमा क्षेत्र दुवै ठाउँमा प्रहरी र किसानबीच टकराब भइरहेको छ ।

पटियालाको सरकारी अस्पतालले २४ वर्षीय शुभकरण सिंह नामका युवकको मृत्यु भएको पुष्टि गरेको छ । किसान संगठनले समेत आन्दोलनका क्रममा उनको मृत्यु भएको भनेका छन् । हरियाणा प्रहरीले भने किसानको मृत्यु भएको कुरा अफवाह भनेको छ ।

पटियालाको राजेन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरनाम सिंह रेखीले किसान आन्दोलनका क्रममा खनौरी नाकामा भएको गोलीकाण्डमा २४ वर्षीय शुभकरण सिंहको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको टाउको पछाडि गोली लागेर मृत्यु भएको ती डाक्टरले बताए ।

भारतमा फेब्रुअरी १३ देखि किसानहरूले आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्य (एमएसपी) लगायत विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । सरकारले किसान युनियनसँग वार्ता सुरु गरे पनि ठोस निर्णय हुन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्