चितवन,८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ ।
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ ।
भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ ।











