काठमाडौं, मंसिर २९ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाई गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश सुवेदी मुसलमानको सुनुवाइ गरेको हो ।
सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केहि मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उहाले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गर्नुभयो । त्यस्तै उहाले न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुयाउने धारणा राख्नुभयो ।
त्यस्तै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उहाले बताउनुभयो ।
न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ । अन्य प्रस्तावित न्यायाधीशको क्रमश सुनुवाई हुने र निर्णय सुनाउने समितिले जनाएको छ ।













