काठमाडौं, मंसिर २९ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरले मंसिर २७ गते देखि सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । साथै चुरोट खुद्रा बेञ्च रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धुमपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको थियो ।














