हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ -राष्ट्रपति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगीताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला क्षेत्रले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नपर्ने बताउनुभएको हो ।

हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको उहाले बताउनुभयो । उहाले हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाको प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । हस्तकला अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पु¥याउने उहाले बताउनुभयो ।

नेपाल हस्तकला महासंघको आयोजनामा सुरु मेला पुष २ गतेसम्म काठमाडौंको दरवारमार्गस्थीत अन्नपूर्ण होटलमा मेला सञ्चालन हुनेछ । मेलामा हस्तकलाका करिव १ सय ३० वटा स्टल रहेका छन् । मेला अन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ मा प्रतियोगिता सञ्चालन हुने महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्