काठमाडौं, २५ मंसिर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।
सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले मंगलबार भाेली दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् ।
ललितपुरको सपना नमार्न भन्दै उनले साँझ बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् ।
अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन् ।
आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ ।
ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न थालिएको हो ।













