नेपालबाट बर्सेनि ३ करोड क्युब फिट काठ विदेश निर्यात हुनसक्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ म‌सिर । व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट बर्सेनि ३ करोड क्युब फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ ।

नेपालका जंगलबाट वार्षिक रुपमा ९ करोड क्युब फिट काठ निकाल्न सकिने र नेपालको कूल बजार माग जम्मा ६ करोड क्युब फिट रहेको बताइएको छ । यसअनुसार नेपालले बर्सेनि ३ करोड क्युब फिट काठ विदेश निर्यात गरेर विदेशी मुद्रासमेत आर्जन गर्न सकिने बताइएको हो । 

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले नेपालका वनजंगलबाट बर्सेनि  नेपालको बजार मागभन्दा धेरै काठ निकाल्न सकिने बताए । तर नेपाल काठमा पनि परनिर्भर नै रहेको उनले बताए ।   

महासंघका महासचिव माधवमणि हुमागाई सरकारको अत्यधिक संरक्षणको नीतिका कारण वनजन्य वस्तुको उपभोगमा समस्या आइरहेको बताए । यही कारण वर्षेनी अर्बौँ रुपैयाँको आयात बढिरहेको उनी बताउँछन् । 

यही कारण हाल नेपालमा अमेरिका, युरोप र अफ्रिकाबाट समेत काठ आइरहेको वक्ताहरुले बताए । जबकि, नेपालका वनजंगलमा वर्षेनी खर्बौँ रुपैयाँ खेर गइरहेको छ । सरकारले वनजंगलको संरक्षण गर्न कडा नीति अवलम्बन गर्दा बर्सेनि  अर्बौँ रुपैयाँ बराबरका वन पैदावारजन्य वस्तुको आयात भइरहेको उनीहरुको भनाई थियो ।

विदेशबाट वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको काठ आयात भइरहेको तथ्यांक छ । यस्तै, करोडौँ रुपैयाँको तयारी फर्निचर, जडीबुटीजन्य वस्तु लगायतका सामग्री आयात भइरहेका छन् । अत्यधिक संरक्षणका कारण स्वदेशी वनजंगलमा भने वार्षिक खर्बौँ रुपैयाँको स्रोतसाधन खेर गइरहेका छन् । 

वन तथा वातावरण मन्त्रालयको एक अध्ययनअनुसार वन क्षेत्रले नेपालको कूल भूभागको ४१.९ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस्तै, ४ प्रतिशत भूभाग बुट्यान क्षेत्रले गरी कल ४५ प्रतिशत भूभाग वन तथा बुट्यान क्षेत्रले ढाकिएको तथ्यांक छ । यसबाट नेपालले बर्सेनि  प्रचुर फाइदा उठाउन सक्छ तर फाइदा उठाउन सकिरहेको छैन । विदेशबाट कच्चा काठ आयातमा नै १८ अर्ब रुपैयाँभन्दा बढी रकम वार्षिकरुपमा बाहिरिने गरेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्