काठमाडौँ, २४ मंसिर । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन् । आज बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् ।
‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए । ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन गर्यौँ। उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ’,निर्माता खत्रीले भने ।
उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताए । अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहनु भएको छ । निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायाङ्कन गरिरहेका छन् ।











