नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सन्दीप रायमाझीसहित ६ जना कारागारबाट रिहा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् ।

उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए ।

धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर भने थुनामै छन् । उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल धरौटी नबुझाउदा थुनामै छन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।


यस्तै,नक्कली भुटानी शरणार्थी प्रकरणका सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।


असार १ मा जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्