सतुंगलमा तस्करीको १६ हजार किलो चिनी बरामद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद गरेको छ ।

शंकास्पद रुपमा केही अघि फेला परेको ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयाे ।

विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले गरेको अनुगमनमा उक्त परिमाणमा चिनी बरामद भएको थियो ।

अनुगमन टोलीले फेला पारेको चिनी सुरुमा आयातकर्ताले भन्सारबाट लिलाम गरेर काठमाडौं ल्याएको दाबी गरेका थिए । तर गुणस्तर परीक्षणमा चिनीको आयातकर्ताको दाबी र लिलामी गरिएको चिनीको बीचमा चिनीको गुणस्तर र कागजपत्रमा फरक देखिएपछि चिनी अवैध भएको खुलेको महानिर्देशक चिलुवालले बताउनुभयाे ।

अहिलेको औसत बजार मूल्यमा सो चिनीको मूल्य १६ लाख रुपैयाँ भन्दा धेरैको भएको विभागले जनाएको छ । बरामद भएको चिनी भन्सार कार्यालयलाई उपलब्ध गराएर लिलामी गरेर बजार पठाउने काम अघि बढेको विभागले जनाएको छ ।

बजारमा अहिले पनि चिनीको अभाव छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्