विधान सभा चुनाव: ‘सेमिफाइनल’मा भाजपा सफल, ‘फाइनल’मा मोदीले ‘ह्याट्रिक’ गर्ने सङ्केत !

खबर बुक
  • ख-
  • ख+

दुई कार्यकाल भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले प्रमुख तीन राज्यको विधान सभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेको छ ।

आइतबार आएको नतिजाअनुसार भाजपाले मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कङ्ग्रेस विजयी भएको छ ।

राजस्थान र छत्तीसगढमा कङ्ग्रेस आईको सरकार थियो । भाजपाले कङ्ग्रेसलाई सत्ताबाट बाहिर पठाइदिएको हो । 

भारतमा आगामी वर्ष केन्द्रीय सरकार निर्माणका लागि आम चुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधान सभा चुनावलाई सेमिफाइनलका रूपमा हेरिएको थियो । परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । लोकसभामा ठुलो सिट सङ्ख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने विश्लेषण हुन थालेको छ ।

हिन्दी भाषी तीन राज्यमा प्रचण्ड बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा चुनावमा पनि ’ह्याट्रिक’ गर्ने दाबी गरेका छन् । ’बीजेपीले कङ्ग्रेसको पन्जाबाट खोसेर दुई राज्यमा विजय हासिल गरेको छ । मध्य प्रदेशमा दुई दशक गरेको शासनले निरन्तरता पाएको छ,’ जितपछि मोदीले भनेका छन्,’यो जितले सन् २०२४ को ह्याट्रिक सुनिश्चित गरेको छ ।’

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन् । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन् ।

तीन राज्यमा चुनाव जितेसँगै अब भारतको ५८ प्रतिशत इलाकामा भाजपा शासन हुने भएको छ । यसकै आधारमा आगामी लोकसभा चुनावमा पनि भाजपा नै दोहोरिने सङ्केत गरेको भारतीय सञ्चार माध्यमहरूले गरेका छन् ।

यी राज्यहरूमा लोकसभा सिटको राम्रो सङ्ख्या छ । मध्य प्रदेशमा २९ लोकसभा सिट, राजस्थानमा २५ सिट, छत्तीसगढमा ११ सिट, तेलंगानामा १७ सिट र मिजोरममा एउटा मात्र सिट छ । यी राज्यमा आएको नतिजाले आगामी चुनावलाई प्रभाव पार्ने आकलन छ । 

भारतमा आगामी ६ महिनाभित्र लोकसभा निर्वाचन हुँदै छ । लोकसभा निर्वाचनअघि करिब ६ महिनाको अन्तरमा हुने कम्तीमा यी पाँच राज्य विधानसभाको परिणामलाई लोकसभाको सेमिफाइनलका रूपमा लिइएको छ । 

यी राज्यमा भएको विधान सभा निर्वाचनले पछिल्लो मत रुझानलाई अभिव्यक्त गर्छ । यी राज्यमा जुन पार्टीले सरकार बनाउँछ, लोकसभा सिटमा पनि सोही पार्टीले जित्न सक्ने अनुमान गर्न सकिन्छ । 

अहिले भएको विधान सभा चुनावमा कङ्ग्रेस शासित राज्यमा पनि भाजपाले जितेकाले आगामी लोकसभा पनि भाजपाका लागि सहज हुने सम्भावना देखिएको छ ।

यसरी दोस्रो कार्यकाल पूरा गरी तेस्रो कार्यकालका लागि चुनावमा होमिने तयारी गरेका भारतीय प्रधानमन्त्री मोदीका लागि आगामी चुनाव पनि सहज हुने सङ्केतहरू देखिएका छन् । २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीलाई चुनौती दिन सक्ने नेता भारतमा अहिले देखिएका छैनन् ।

भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्