ढोरपाटन , १८ मंसिर । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो।
अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए। आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको उनले जानकारी दिए।
हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्ने सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए। चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेंसी झारिएको छ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ। बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ। वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन्।
ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो। लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन्।
खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो वेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ।











