लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित, विभिन्न नदीमा जलसतह बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , असोज २०

लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न नदीहरूमा खतराको सतह पार गरेको छ ।

नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताउनुभयो । पानीको बहाब बढेपछि आज बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए ।

पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । यस्तै अविरल वर्षाका कारण बबई नदीमा आएको बाढीले गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेको बताइएको छ । बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् ।

बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ । बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताउनुभयो ।

यस्तै, वर्षाका कारण धनगढीका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण धनगढीको मुख्य बजार, एलएन चोक तथा सडक क्षेत्र डुबानमा परेपछि डाइभर्सन गरिएको छ । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्