कांग्रेसमा ‘गगनहरूको गनगन’ र देउवाका दाउ : एक–अर्कालाई गलाउने कसरतमा दुवै पक्ष

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि धेरैमा आसा पलाएको थियो । पार्टी विधि, विधान र नियमानुसार चल्ने छ ।

संगठन चुस्त–दुरुस्त हुनेछ । विभाग, भातृ संगठनहरू अपडेटेट हुनेछन् । कसैले विधि, पद्धती मिच्ने दुस्साहास गर्ने छैन । पार्टी एकल निर्णयमा होइन सामूहिक निर्णयमा चल्ने छ । लाग्थ्यो कसेले गुनासो गर्ने ठाउँ सायदै रहला । किनकी पार्टीको माथिल्लो तहमा पुगेका थिए आशा गरिएका दुई युवा । उनीहरूलाई साथ दिने अरु पनि आशलाग्दा अनुहार थिए । पार्टी विधि र विधानसम्मत् चलेन भनेर आवाज उठाउनेहरू कार्यान्वयन गर्ने ठाउँमा पुगेका थिए ।

उनीहरू आवाज उठाउने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका थिए । उनीहरू उपल्लो तहमा पुगेपछि आम मान्छे र कांग्रेसीजनको स्वाभाविक चाहना थियो अब पार्टी कुनै व्यक्तिको इच्छा र आकांक्षाले होइन विधानले चल्ने छ । नियम र पद्धतीले चल्ने छ । फेरि कसेको गनगन सुन्न पर्ने छैन । के उनीहरू पार्टीको उपल्लो तहमा पुगेपछि पार्टी भनेअनुसार चल्यो त ? सबै ठीक भयो त ? अह ! तर, जे नहोला भन्ने अपेक्षा थियो त्यही भइदियो । सुरुमै उनीहरूले नै नचाहेको चुनावी गठबन्धन बन्यो । टोकरीबाट छानिछानी टिकट दिइयो । कति पाउनुपर्नेले टिकट पाएनन् । कति नपाउने पाए ।

त्यतिमात्रै होइन सरकारमा जाने÷नजाने, समर्थन गर्ने÷नगर्ने र कसलाई मन्त्री बनाउने÷नबनाउनेसम्मका काम झण्डै सभापति शेरबहादुर देउवाको एकल इच्छामा भए । त्यतिमात्रै होइन पार्टीको संगठन बेहाल बनेको छ । न विधानसम्मत पार्टीका संरचनाले पूर्णता पाएका छन् न त केन्द्रीय कार्यसमिति बैठक नै बस्छ । सभापति देउवाले नचाहँदा गत भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । केन्द्रीय समितिको सट्टा केन्द्रीय कार्यसम्पादन समितिले काम चलाउँदै आएको छ ।

पार्टीका संगठन पनि लथालिङ्ग छन् । अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । विभाग कहिले गठन हुन्छन् भन्ने टुङ्गो छैन । पार्टी नेतृत्वको काम गर्ने शैलीसँग केन्द्रमा महामन्त्रीद्वय नै असन्तुष्ट छन् । जिम्मेवार पदमा भएका उनीहरूले हस्तक्षेपकारी भूमिमा निर्वाह गर्न सकिरहेका छैनन् । पार्टीको यस्तो बेहाल हुँदासमेत आशा गरिएका महामन्त्रीद्वय गगन–विश्वप्रकाश टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेका छैनन् ।

बरु जे नहास् भन्ने थियो, त्यही भइरहेको छ । उनीहरूले दैनिक गनगन गरिरहेका छन् । जसरी पहिले गर्थे । अझै गगन त नेतृत्वविरुद्ध उग्ररूपमा प्रस्तुत छन् । तत्काल नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । पार्टीलाई विधिसम्मत् चलाउन दबाब दिनुको साटो उनी नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन् । देउवाले तत्कालै पद छोड्नुपर्ने बताइरहेका छन् । सभापतिले एकलौटी तरिकाले चलेको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निचोडमा महामन्त्री थापा पुगेका छन् ।

अब पनि देउवा शैलीको प्रतिवाद नगर्ने हो भने पार्टीको क्षय रोक्न नसकिने थापाको बुझाइ छ । जसलाई उनका पछिल्ला अभिव्यक्तिले समेत पुष्टि गर्छ । उसो त कांग्रेस पदाधिकारीमा गगन र विश्वप्रकाश मात्रै होइन, थुप्रै युवा अटाएका छन् । तर, युवा नेताहरू पदाधिकारी बन्दा पनि पार्टी सुधारको आशा नदेखेपछि अर्को एक युवा समूह रुपान्तरणको अभियानमा निस्किएको छ ।

शेखरसँग नजिकिँदै देउवा :

राजनीति आम मान्छेले सोचेजस्तो सिधा बाटोमा चल्दैन । यहाँ वाद प्रतिवाद हुन्छ । षड्यन्त्रताका नाताबाना बुनिन्छन् । एकले अर्कोलाई कसरी गलाउने भन्नेमा प्रतिस्पर्धा चल्छ । कांग्रेसजस्तो पार्टीमा झण्डै दुई तिहाइ मत ल्याएर महाधिवेशनमा विजयी भएका सभापति देउवा सजिलै कहाँ गल्छन् र रु उनी पनि विपक्षीलाई गलाउन नयाँ रणनीतिमा लागेका छन् । देउवाले गगनको विद्रोहलाई निस्तेज बनाउने नीति लिएका छन् ।

फेरि सभापति नहुने घोषणा गरेका देउवाले त्यसका लागि पछिल्लो समय इतर समूहका नेता शेखर कोइरालासँग निकटता बढाएको चर्चा छ । शेखरसँग निकट सम्बन्ध कायम राखेर अघि बढ्ने मनस्थितिमा देउवा पुगेको पछिल्ला केही घटनाक्रमले देखाउँछ । शेखरसँग नजिकँिदा गगनहरूको पंतीलाइ पाखा लगाउन सकिने उनको दाउ हुनसक्छ ।

पछिल्ला दिनमा देउवा–शेखर एउटै मञ्चमा देखिन थालेका छन् । कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को चितवनमा शुक्रबार सुरु भएको कार्यक्रममा उनीहरू सँगसँगै आउजाउ गरे । एउटै मन्चमा देखिए । उनीहरू एउटै मञ्चमा देखिएको त्यो पहिलोपटक थिएन । यसअघि उनीहरू शनिबार भक्तपुर कांग्रेसको जिल्ला सम्मेलनमा सँगै देखिएका थिए ।

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा विशिष्ठ अतिथि शेखर कोइराला र प्रमुख अतिथि थिए पार्टी सभापति शेरबहादुर देउवा थिए । आउँदो महाधिवेशनमा शेखरलाई सभापति उम्मेदवार बनाउने बाचा गरेका गगन पछिल्लो समय त्यसबाट बिच्किएका् बताइन्छ । शेखर–गगनबीच दुरी बढेको अनुमानबीच देउवाले निकटता बढाएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्