तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु , ५ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १९ । तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं. को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताउनुभयो ।

५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्