काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई उक्त निर्देशन दिएको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयाे ।
संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएपछि उक्त पदमा लामिछानेलाई चयन गर्नुपर्ने निर्णय केन्द्रीय समितिले गरेको हो ।
निर्विरोध रूपमा अथवा सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै संसदीय दलको रूपमा चयन गर्नका लागि केन्द्रीय समितिले विधानबमोजिम संसदीय दललाई निर्देशन दिएको ढकालले बताउनुभयाे । रास्वपा संसदीय दलको बैठक आज ३ बजेकाे लागी बाेलाइएकाे छ । उक्त बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गर्नेछ ।
लामिछाने चितवन-२ मा भएको उपनिर्वाचनबाट सांसद निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समितिले संसदीय दललाई उक्त निर्देशन दिएको हो ।











