काठमाडौं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिनुभएकाे छ ।
पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिनुभएकाे हाे ।
मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट उहाको सांसद पद गुम्यो । त्यसपछि अर्याललाइ संसदीय दलको नयाँ नेता चयन गरिएकाे थियाे ।
लामिछाने फेरि संसदमा फर्किएपछि उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिनुभएकाे हाे ।
अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको छ । आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गर्नुभएकाे छ ।
रास्वपा स्रोतका अनुसार सोमबार बस्ने अर्को संसदीय दल बैठकले प्रक्रियागत रुपमा नयाँ नेता चयन गर्ने छ । सभापति लामिछाने पुनः सर्वसम्मतिले संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।











