नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रमका बोल्दै नेपालले निर्वाचन नजिकिदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाई भएको बताउनुभएको हो । उहाले कतिपय अपेक्षा नगरेका व्यक्तिहरुले समेत टिकट माग गरेको जिकिर गर्नुभयो । वृद्धावस्थामा पुगेका नेताहरुले पनि टिकट माग गरेको उहाले बताउनुभयो ।
अध्यक्ष नेपालले टिकट बितरणका लागि को काबिल छ वा छैन भन्ने छुट्टाउन पनि समस्या भइरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले सांसद पदबाट हटेपछि कुनै न कुनै व्यवसायमा जोडिन पनि नेताहरुलाई सुझाव दिनुभयो ।
अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरि मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिनुभयो ।