
काठमाडौं, १३ पुस । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि तय गरिएको छ ।
संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार छन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लामाले उम्मेदवारी दर्ता गरेका छन् । लामाको उम्मेदवारी दर्ताका लागि संसद कुन्दनराज काफ्ले प्रस्तावक, समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।
इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।
बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।