काठमाडौं, भदौ २ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेश भएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिनुभयो । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरुका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने उहाले बताउनुभयो ।
उहाले पूर्ण छात्रबृतिका बिषयमा आफ्नो जोड रहेपनि राज्यले धान्न सक्ने गरि उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो । केहि प्रतिशत निजि र केहि प्रतिशत सरकारले थप गर्ने गरि बिपन्नलाई पूर्ण छात्रबृतिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उहाले बताउनुभयो ।
त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश बिषय सरकारले स्वीकार गरिसकेका बिषय उल्लेख भएपनि अध्इयनका लागि दुई दिनको समय दिन आग्रह गर्नुभएको थियो । उहाले विधेयक अघि बढाउन निकै ढिलाई भएकाले छिटो पारित गर्न पनि आग्रह गर्नुभयो ।
समितिमा पेश भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ ।












