
काठमाडौं, असार २१ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका २ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ।
अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगर ४ बाट पक्राउ गरेको हो।
यसैबीच, बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका ८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगर ४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो।