‘कसैले मर्ने/आत्महत्या गर्ने कुरा गर्छ भने’ मजाक नठानौ !

खबर बुक
  • ख-
  • ख+

१३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेकी छन ।

उनले आफ्ना नजिकका साथीहरुसँग पहिला नै आफुले आत्महत्या गर्ने भन्ने गरेकी थिईन । तर उनका साथीहरुले यसलाई मजाक ठानेर खासै ध्यान दिएनन ।

 

६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् ।

केहि समययता पारिवारिक र व्यक्तिगत तनावको संकेत पाएका खेलाडीहरु उनलाई बुझ्न नसकेकोमा अहिले पछुतो गर्दैछन् ।

उनका साथीहरुको भनाई अनुसार पुलिसको जागिर छाडेपछिको समयमा सञ्जुको व्यवहार केहि भिन्न थियो । उनी केहि दुब्लाएकी पनि थिइन् । जागीर छाडेपछि कमाइ पनि भएन भन्नेखालको गुनासो गर्ने गर्दथिन । यो त एउटा उदाहरण मात्र हो । यस्ता थुप्रै घटनाहरू छन्, जसले हाम्रो समाजलाई रोगी बनाउँदैछ ।

आत्महत्या ठुलो चुनौती बन्दै

नेपालमा आत्महत्या जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतीका रूपमा देखा पर्दै आएको । तथ्याङ्कले देखाए अनुसार नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ -१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आ.व. २०७५ – २०७६ मा ५,७५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए। जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

आ.व.२०७६- २०७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरूको सङ्ख्या ६२७९ रहेको थियो । जसमा दैनिक १७ जनाले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको देखिन्छ ।

यस आ.व २०७७/०७८ मा ७ हजार १४१ जना मानिसहरूले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको नेपाल प्रहरीको तथ्याङ्कमा देखिन्छ जुन दैनिक औसत १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यो सङ्ख्या आ.व ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीर रूपमा सोचेका हुन्छन्। प्रत्येक वर्ष विश्वमा सरदर ८ – १० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गर्छन् । तर आत्महत्याको प्रयास गर्नेमा भने पुरुष भन्दा महिलाहरू बढी हुन्छन् ।

आत्महत्याको कारण

आत्महत्या गर्ने सोच र अवस्थामा पुग्नुमा धेरै कारणहरू हुन्छन् । धेरै जस्तो अवस्थामा आत्महत्या वा आत्महत्याको प्रयासलाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

आत्महत्या गर्नुमा ९० -९५ प्रतिशत कारण मानसिक रोग नै भएको देखिएको छ । यसमा पनि डिप्रेसन नामक मनोरोग मुख्य मानिन्छ । केही व्यक्तिहरू भने क्षणिक आवेगमा आएर पनि आत्महत्या गर्ने गर्दछन् । यसका साथै अत्यधिक जाँड – रक्सी तथा लागूँ पदार्थको सेवन र कडा खालका मानसिक रोग हुँदा पनि व्यक्तिले आत्महत्या गर्न सक्ने जोखिम हुन्छ । आत्महत्या आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

आत्महत्याको जोखिम

आत्महत्याको हिसाबले केही व्यक्तिहरू उच्च जोखिममा रहेका हुन सक्छन् । जस्तो डिप्रेसनमा भएका , कुनै दुखद घटनाले धेरै नै प्रभावित भएका , पटक पटक आत्महत्याको प्रयास गरेका, तनाव पूर्ण पेसा वा व्यवसायमा लागेका , पारिवारिक झैँ – झगडा वा उल्झनमा फसेका, आर्थिक सङ्कटमा परेका , बेरोजगार तथा लागू प्रदार्थको कुलतमा फसेकाहरू आत्महत्याको हिसाबले जोखिममा परेका व्यक्तिहरू मानिन्छन् ।

मानसिक रोगको चेतनामा कमी

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्या गर्नुलाई हाम्रो समाजले फरक रूपमा लिन्छ । मानसिक रोगलाई पूर्व जन्मको पाप र अपराध ठान्छ । देवी देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई हाम्रो समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भन्ने गरेको पनि सुनिन्छ । आत्महत्या गर्नेको परिवारसँग अरू व्यक्तिहरूको सम्बन्ध तथा आउजाउ कम हुने तथा पानी बाराबार सम्म गर्ने गरेको समेत सुनिन्छ ।

आत्महत्या समस्याको समाधान होइन

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ । यो सुन्दर संसारमा केही समयको लागि तुवाँलो लागेको मात्र हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो अवश्य फाट्नेछ।

जीवन रहे मात्र फेरि संसार देख्न पाइन्छ । आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ । आफ्ना गल्तीहरू प्रायश्चित गर्न सकिन्छ । तर आफू नै नरहेपछि न संसार देख्न पाइन्छ न त आफूले गरेको भुललाई सुधार्न वा प्रायश्चित गर्ने मौका नै पाइन्छ । आत्महत्या समस्याको समाधान हुँदै होइन ।

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ

हरपल मरमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” । समय र सोच सधैँ एउटै हुँदैन । दुःख र निराशाको पललाई धैर्य गरेर केही बेर पर्खने र सामना गर्ने हो भने त्यो पल बितेर जान्छ । जीवन नै त्याग्ने आफ्नो सोचमा पनि परिवर्तन आउँछ । थोरै धैर्यता र अरूको सानो साथ र सहयोगले जीवनमा नयाँ आशा जगाउन सक्छ । कसैको सानो सहयोग पनि जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

आत्महत्या सहयोगका लागि चित्कार

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार हो । कुनै कुनै अवस्थामा बाहेक व्यक्तिले एकै पटक आत्महत्या गर्दैन । आत्महत्या गर्नु अगाडि व्यक्तिले विभिन्न किसिमका लक्षण वा सङ्केतहरू देखाउने गर्दछ । असी प्रतिशत व्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै लक्षण देखाउने गरेको देखिन्छ । यस्तो अवस्थामा उसले घरपरिवार, साथी सङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ ।

आशाको दियो जगाऊ

प्रायः सबै मानिस दीर्घ जीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोही व्यक्तिहरू आत्महत्या गरेर आफ्नो जीवन आफै समाप्त पार्न खोज्छन् ? आत्महत्या गर्ने अवस्थामा पुगेको व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएर देख्छ । उ आफै देखि निराश भएको हुन्छ । उसले मर्नुदेखि बाहेक अरू कुनै पनि विकल्पहरू भेट्दैन । व्यक्तिको यस्तो निराश मनमा हामीले कुनै न कुनै कार्य र माध्यमबाट आशाको दियो जगाउने काम गर्न सके उसको जीवन बचाउन सक्छौ ।

आत्महत्याको समाचारमा संवेदनशील हौ

आत्महत्या एकदमै संवेदनशील विषय हो । आत्महत्याको समाचारलाई अतिरञ्जित र सनसनी पूर्ण बनाउनु हुँदैन । जसले समाजमा झनै नकारात्मक असर पुर्‍याउँछ। डिप्रेसनमा गएका र आत्महत्याको सोच बनाएकाहरूलाई यसले आत्महत्या गर्ने हौसला बढाउँछ । बालबालिकाहरूले पनि त्यसको नक्कल गर्न सक्छन् ।

आत्महत्याको खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका लागि सबैको सहकार्यको जरुरत पर्दछ ।

यहाँहरूमा पनि आत्महत्याको सोच, बिचार आइरहेको छ । आत्महत्या गर्ने योजना बनाई सक्नु भएको छ वा आत्महत्याको प्रयास समेत गरिसक्नु भएको छ भन्ने आजै मनोविज्ञान सहयोग लिनुहोस् । आत्महत्याको सोच, बिचार र प्रयास तपाईँको कमजोरी होइन । सहयोगका लागि हटलाइन ९८१३५२७७३२ मा सम्पर्क गर्नुहोस् ।

(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्