प्रतिनिधिसभा बैठक सुरु भएन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभाको आइतबारको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भइसक्दा पनि सुरु भएको छैन ।

बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो । तर, दिउँसो साढे २ बज्दासम्म बैठक सुरु भएको छैन ।

सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीचको छलफल लम्बिँदा संसद् बैठक सुरु हुन ढिलाइ भएको सांसदहरूले बताएका छन् ।

संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । उनले ‘नेपाल प्रहरी विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘नेपाल प्रहरी विधेयक, २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्