
काठमाडौं, माघ २६ । पाथिभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केवलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलवाड गर्ने काम भएको बताउनुभएको छ ।
पाथीभरा केवलकारका बिषयमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकारले पहिचानको प्रवद्र्धनका साथै स्थानीयको नागरिकको जीवनस्तरमा सुधार ल्याउँने भन्दै केवलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलवाड गर्ने काम भएको बताउनुभएको हो ।
उहाले ताप्लेजुङका बासिन्दा भन्दा पनि बाहिर बस्ने नेपालीहरुले ताप्लेजुङका बासिन्दालाई गलत सन्देश प्रवाह गर्ने काम गरेको उल्लेख गर्नुभयो । उहाले आधारभूत आवश्यकतका संरचनाबाहेक मन्दिर नजिक अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।
केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने उहाले बताउनुभयो । केवलकार निर्माण भएपछि स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र स्थानीय बिकासका साथै जिवनस्तर सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ ।
केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुने र यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने ढकालले बताउनुभयो । उहाले पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरुले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि भएको बताउनुभयो ।
केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै सम्मृद्धिमा उनीहरुको योगदानको अनादर गर्नु अत्यन्त दुखद् विषय भएको ढकालले बताउनुभयो । केवलकार आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लाबासीका भावना र आवश्यकताको नजिकमा रहेको उहाको भनाइ छ । उहाले राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रकृया पुरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय उचित नभएको बताउनुभयो ।
ढकालले कुनै पनि बहानामा विकास निर्माणका काममा अबरोध नगर्न आग्रह समेत गर्नुभयो । पाथिभर आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो ।