२६ माघ, काठमाडौं ।दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटक रोजाइमा पर्न थालेको छ। पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका हुन्।
प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ग्रेटवाल अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको संख्यामा पनि वृद्धि भएको छ।
पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्न मिनी ग्रेटवाल निमार्ण सुरु गरिएको थियो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए पनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
ग्रेटवाल निर्माणका लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ पालिकाको ३० प्रतिशत बजेट रहेको छ। प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
सरकारले नेपालका सय पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणका लागि प्रस्ताव गरिएको थियो।














तस्बिरः नेपाल फोटो लाइब्रेरी











