काठमाडौ, २९ कात्तिक । नेपाली कांग्रेसका नेता तथा काठमाण्डाैं क्षेत्र नं १ का उमेदवार प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न साथै नेपालको राष्ट्रिय राजनीतिलाई स्थायित्व दिन यस पटक काङ्ग्रेस सहितको गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार चुनावी घरदैलाेका क्रममा नेता सिंहले देशको संविधान काँग्रेसको नेतृत्वमा आएको भए पनि अघिल्लो निर्वाचनमा काङ्ग्रेसले म्यान्डेट नपाउनु दुर्भाग्य रहेको बताउनु भयो ।
प्रतिपक्षको गलत कदमले संविधान असफल बनाउँदै, नेपाललाई पुन अस्थिरता तर्फ लानै लागेको समयमा काङ्ग्रेसले देशको नेतृत्व लिएर जनताले कठिन संर्घष गरेर ल्याएको संविधानको संरक्षण गरेको उहाँकाे भनाइ छ ।
यसैले संविधान काङ्ग्रेसको नेतृत्वमा आएकोले यसलाई संस्थागत गरेर, स्थायित्व पनि काङ्ग्रेसले नै दिन सक्ने उहाँले बताउनु भयाे ।
यस्तै उहाँले देशको समग्र विकाशको लागि संविधानले प्रधान गरेको सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । सङ्घीयताले देशमा तिन तहको सरकार आए पनि जनताले सोचे जस्तो गाउँ गाउँमा सिंहदरबार हुन नसक्नु उचित कानुनकाे अभाव रहेकाे उल्लेख गर्नु भयाे । उहाँले गठबन्धनको जितले त्यसको सुनिश्चित गर्ने बताउनु भएको छ ।











