
काठमाडौं, माघ ९ । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले बिज्ञहरुसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरुलाई प्रशिक्षण दिएको हो । सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप शसक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएपनि बिपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदहरुलाई अध्यादेशका बारेमा जानकारी गराइएको उहाले बताउनुभयो ।
संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेश गर्ने र प्रतिष्थापन बिधेयकमार्फत व्यवस्थीत रुपमा अघि बढाउन सरकारलाई सुुझाव समेत दिइएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।