
काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पार्नुभयो । उहाले दुईदलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिनुभयो । संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरुको पनि सहमति आवश्यक रहेको उहाले बताउनुभयो । उहाले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायी माथि भएको घटना अराजक तर्क गर्नुभयो ।
नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिनुभयो । कोइरालाले सरकारले ल्याएको अध्यादेशहरुको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राख्नुभयो ।