फागुन १३ देखि ७५ जिल्लामा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन ।  दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत सरकारले यही फागुन १३ देखि चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ। 

जाजरकोट र पश्चिम रुकुममा भने यो अभियान सञ्चालन हुने छैन।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ बालबालिकालाई खोप लगाउने बिहीबार पत्रकार सम्मेलन गरीवरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। ती बालबालिकालाई एक हजार ६७० खोप केन्द्रबाट खोप लगाइने बताए।
 
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ। यस्तै ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन्। काठमाडौं जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी-मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा ३३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ।

भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

काठमाडौँ दादुरा-रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। गत वर्ष काठमाडौं जिल्लामा दादुरा-रुबेला फैलिँदा २२५ जना सङ्क्रमित भएका थिए। एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्