कसैको इच्छा विपरित होली नखेल्न प्रहरीको आग्रह

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डाै, फागुन  २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले एक  सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । यस्तै ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि प्रहरीले आग्रह गरेकाे छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसवर्ष आउदाे सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्