बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

खबर बुक
  • ख-
  • ख+

बुटवल, २१ पुस  । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयाे ।

उहाले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताउनुभयाे।

चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरूको ३५ बुँदे प्रस्तुत गर्दै उहाले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताउनुभयाे । उहाले उज्यालो बुटवल अभियानअन्तर्गत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नतीलगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताउनुभयाे ।

नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताउनुभयाे ।

नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताउनुभयाे । उहाले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताउनुभयाे ।

बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उहाले बताउनुभयाे ।

नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धी ऐन पहिलो संशोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गर्नुभयाे । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्