अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति- प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति गराउने हुनुपर्ने बताउनुभएको छ ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको बताउनुभएको हो ।

उहाँले संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैशाखमा स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको र नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थालेकाले मुलुकमा उत्तरदायी लोकतन्त्रको अभ्यासलाई थप सबलीकरण गरेको बताउनुभयो । संघीय सरकारले तदारुकता देखाई संघ, प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउन तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको बताउँदै प्रधानमन्त्री देउवाले पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा, शिक्षा, स्वास्थ्यलगायतका विषयहरूको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरूको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नेगरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्