उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने खानेपानी मन्त्रीकाे प्रतिबद्धता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ मंसिर । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी काठमाडौं उपत्यकामा पुनः वितरण गर्न सुरु गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार एक कार्यक्रमबीच पानी वितरण कार्यको पुनः शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो । गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो । यसपटकको बाढीले हेडवक्र्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो । मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिनुहुँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनुभयो । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणिराम गेलालले हरेक वर्ष जेठमा बन्द गरेर कात्तिकमा खोल्नुपर्ने चक्रलाई अन्त्य गर्न एसियाली विकास बैंकको विज्ञको टोलीले मेलम्ची खानेपानी आयोजनाको साइटमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले मेलम्चीमा नियमित आउने सामान्य बाढीका कारण खानेपानी वितरण बन्द गर्न नपरोस भन्ने तर्फ मन्त्रालय रहेको उल्लेख गर्नुभयो ।

आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको केयूकेएलले जनाएको छ । आयोजनाबाट उपलब्ध हुने पानी काठमाडौं महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने केयूकेएलका उप कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्