भारतीय प्रधानमन्त्री मोदीसँग आज बालेनको द्विपक्षीय भेटवार्ता, एमओयू आदानप्रदानदेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्मको कार्यतालिका

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबार उच्चस्तरीय भेटवार्ता र विभिन्न औपचारिक कार्यक्रमहरू तय भएका छन्।

सार्वजनिक कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै बिहान १० बजेर ४० मिनेटमा उनी राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ। उक्त भेटवार्तापछि दिउँसो १२ बजेर २५ मिनेटमा सोही स्थानमा समझदारीपत्र अर्थात् एमओयूहरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि दिउँसो ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

दिनभरका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ बजेर ५० मिनेटमा स्वदेश फर्किनका लागि भारतबाट प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

यसअघि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्