काठमाडौं । गत वर्ष २४ भदौको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
मर्मत तथा पुनर्निर्माणको काम सम्पन्न भएपछि सोमबार बिहान १० बजेदेखि टंगाल शाखा औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो । शाखाको शुभारम्भ भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका हुन् ।
गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो । त्यसमध्ये टंगालसहित १० वटा स्टोर मर्मतपछि सञ्चालनमा आइसकेका छन् । दमक र हेटौंडा शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा रहेकाले ती शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
‘ज्यानको बाजी राखेर उठाउन खोजेको छु’
टंगाल शाखाको पुनः सञ्चालनका क्रममा बोल्दै अध्यक्ष गुरुङले आन्दोलनका क्रममा आफ्नै आँखाअगाडि अर्बौं रुपैयाँ बराबरको सम्पत्ति जलिरहेको देख्दा गहिरो पीडा भए पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनर्निर्माणमा जुटेको बताए ।
भत्काउन र बिगार्न जति सजिलो हुन्छ, नयाँ बनाउन त्यति नै कठिन हुने उल्लेख गर्दै उनले पुनर्निर्माणका क्रममा आफ्नो स्वास्थ्यमा समेत गम्भीर असर परेको बताए ।
‘मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु, मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो, अहिले सुधार भएको छ,’ गुरुङले भने, ‘हामी नेपाली हिम्मतिला छौं, त्यसमा पनि गोर्खाली हौं । गोर्खालीको साहस छुट्टै हुन्छ । त्यसैले हामीले एउटै अठोट गर्यौं– खरानीबाट फेरि उठ्नेछौं ।’
गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई देशकै सम्पत्तिका रूपमा व्याख्या गरे ।
‘यो मेरो मात्र सम्पत्ति होइन, नेपालको सम्पत्ति हो । यहाँ हजारौं नेपालीले रोजगारी पाएका छन्,’ उनले भने, ‘हामीले आर्जन गरेको पैसाको ३० प्रतिशत त राजस्वमै तिर्छौं । आफ्नै सम्पत्तिमा आफैंले आगो त कसैले लगाउँदैन नि !’
गुरुङले ४२ वर्षअघि १२० स्क्वायर फिटको भाडाको कोठाबाट श्रीमतीको गहना बेचेर जम्मा ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै भाटभटेनी निर्माणमा आफ्नो रगत र पसिना बगेको बताए ।

‘यही देशमा गर्ने हो, यहीँ मर्ने हो’
गुरुङले आगामी १५ वर्षमा इमानदार नेतृत्व पाए नेपाल विकसित देश बन्न सक्नेमा आफू आशावादी रहेको बताए ।
देशमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै निराश भएकाहरूलाई आतंकित नहुन र आफ्नो काम निरन्तर अघि बढाउन आग्रह गर्दै उनले निजी क्षेत्रले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘आतंकित किन हुने ? यही देशमा गर्ने हो, यही देशमा मर्ने हो । देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ,’ उनले भने, ‘मेरो देशमा अब उप्रान्त यस्तो घटना कहिल्यै नहोस् । सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ ।’
पुनर्निर्माणका क्रममा अहोरात्र खटिएका इन्जिनियर, कर्मचारी तथा सहयोगी संस्था, सञ्चारमाध्यम र स्वदेश तथा विदेशबाट हौसला प्रदान गर्ने शुभचिन्तकहरूलाई उनले धन्यवाद दिएका छन् ।
कम्पनीले टंगाल शाखा पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक तथा गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
ग्राहकमा उत्साह : ‘सामान किन्न नपाउँदा हैरान थियौं’
टंगाल शाखा पुनः सञ्चालनमा आएसँगै सोमबार बिहानैदेखि सामान खरिद गर्न ग्राहकहरूको उल्लेख्य भिड लागेको थियो । लामो समयदेखि नियमित किनमेल गर्ने गन्तव्य बन्द हुँदा निराश बनेका ग्राहकहरू स्टोर खुलेपछि उत्साहित देखिएका थिए ।
मूलपानी घर भई टंगालमै कार्यालय रहेकी नियमित ग्राहक विष्णु भण्डारी स्टोर खुलेको थाहा पाउनेबित्तिकै भाटभटेनी आएको बताइन् ।
आगजनीको घटनाले आफूहरूलाई निकै दुःखी बनाएको उल्लेख गर्दै उनले स्टोर बन्द हुँदा दैनिक उपभोग्य सामान खरिद गर्न समस्या भएको बताइन् ।
‘यो स्टोर नहुँदा हामीलाई सामान किन्न निकै अप्ठ्यारो भएको थियो । एउटा सामान खोज्न एकातिर र अर्को खोज्न अर्कोतिर धाउँदा हामी वाक्कदिक्क भइसकेका थियौं,’ उनले भनिन्, ‘आज खुल्दा एकदमै रमाइलो लागिरहेको छ ।’
यति छिट्टै स्टोर सञ्चालनमा आउला भन्ने नसोचेको बताउँदै भण्डारीले सञ्चालकदेखि सम्पूर्ण कर्मचारीलाई बधाई दिइन् । उनले अब ग्राहकले बाहिरभन्दा सस्तो मूल्य, विभिन्न अफर तथा म्याद ननाघेका गुणस्तरीय सामान सहज रूपमा पाउने अपेक्षा व्यक्त गरिन् ।
भाटभटेनी सुरु भएदेखि नै नियमित ग्राहक रहेका गोविन्द रेग्मीले भाटभटेनीलाई नेपाललाई विश्वसामु चिनाउने एउटा गर्विलो ‘सपिङ कम्प्लेक्स’ का रूपमा व्याख्या गरे ।
खरानीबाट छोटो समयमै पुनः नयाँ स्वरूपमा फर्किनुले मानिसमा हिम्मत भए कठि










