आईसीयूमा बिरामीको अन्तर्वार्ता प्रसारणप्रति प्रेस काउन्सिलको चासो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।

काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ।

त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक आईसीयूमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार २१ गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराका अनुसार आईसीयू सामान्य अन्तर्वार्ता गर्ने स्थान नभएकाले त्यहाँ उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा तथा उपचार प्रक्रियामा पर्न सक्ने असरलाई गम्भीर रूपमा विचार गर्न आवश्यक हुन्छ।

‘सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता गर्ने स्थान होइन। त्यहाँ उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई पत्रकारले गम्भीर रूपमा विचार गर्नुपर्छ,’ बोहराले भने, ‘हामीले यी दुवै सामग्रीलाई पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन गरिरहेका छौँ। सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलसँग पनि आवश्यक जानकारी मागेका छौँ।’

काउन्सिलले प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ।

यस विषयमा सम्बन्धित अस्पताललाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिएर सम्बन्धित सञ्चारकर्मीले अन्तर्वार्ता लिएको हो वा होइन भन्नेबारे जानकारी दिन पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

त्यसैगरी, आईसीयूमा सञ्चारकर्मीको प्रवेश तथा अन्तर्वार्ता लिन अनुमति हुने वा नहुने विषयमा जानकारी माग्दै नेपाल मेडिकल काउन्सिललाई समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

अध्ययनपछि आवश्यक देखिए पत्रकार आचारसंहिताअनुसार थप प्रक्रिया अघि बढाइने प्रेस काउन्सिल नेपालको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्