काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चलाइएको हल्ला अन्त्य गरेको दाबी गरेका छन्।
काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थलीमा दुई दिनसम्म बसेको कार्यदलको बैठकले अध्यक्ष परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्ला चिरेको उनले बताएका हुन्।
बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिर्दै पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल गरेको बताएका छन्।
उनले वर्तमान सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावलाई समेत छलफलमा समेटिएको जानकारी दिए।
कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले पेस गरेका दुवै मस्यौदा प्रस्तावलाई बैठकमा प्राप्त सुझावका आधारमा अन्तिम रूप दिने निर्णय भएको बस्नेतले बताए।
उनका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको छ।










