काठमाडौँ। रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी अकस्मात् बाढीपछि अलपत्र परेका विदेशी नागरिकहरूमध्ये २७ जनाको सकुशल उद्धार गरिएको छ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड ले औपचारिक स्थिति प्रतिवेदन जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएका २७ जना विदेशी पर्यटकहरूको आधिकारिक नामावली सार्वजनिक गरेको हो।
पर्यटन बोर्डका अनुसार २७ अगस्ट २०२६ (भदौ ११) अपराह्न ३:३० बजेसम्म उद्धार गरिएका नागरिकहरूमा भारत, अमेरिका, इटाली, दक्षिण कोरिया तथा अन्य देशका नागरिकहरू रहेका छन्:
भारत (११ जना): थिरुमा भालन, बालानी याप्पन, रत्न कुमार, रनानगा सवाई, रघुनन्दन, सीमा रञ्जन, नघु कबीर दोष, मारन गोबिन्दा स्पानु, सत्याई ढाकम, विजय बाखु र पङ्गा सवाई।
दक्षिण कोरिया (४ जना): तेयुन किया, तेहुन युम, जोङ्घोलिम र जेपोक याङ।
इटाली (२ जना): लोटुमुव स्टेकानो र भालुन्टिना पिच्चिन्टाई।
अमेरिका (२ जना): अञ्जना राजा र पट्टाबिरामन भेङ्कटेसन।
अन्य पहिचान खुलाउन बाँकी (८ जना): गङ फु, पुङ्गानाङ फुई, फाङ न्योताउ, झाङ चुआन, तियान यु, जिन्झी ग्याङ, झाङ कर्ग र ज्याङ ग्याङ।
पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन व्यवसायीहरूसँगको सहकार्यमा प्रभावित क्षेत्रमा रहेका अन्य स्वदेशी तथा विदेशी पर्यटकहरूको अवस्था पत्ता लगाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीव्र प्रयास जारी राखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू तथा हवाई उद्धारका लागि हेलिकप्टरहरू निरन्तर खटाइएको छ। बाढीका कारण सडक सञ्जाल र सञ्चार सम्पर्क अवरुद्ध भएका क्षेत्रहरूमा उद्धार कार्य प्राथमिकताका साथ भइरहेको छ।
पर्यटक तथा तिनका आफन्तहरूले थप जानकारी र आपतकालीन सहायताका लागि नेपाल सरकारको टोल-फ्री नम्बर १२३४ तथा पर्यटन बोर्डको हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिनेछ।









