काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेकाले आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्र प्रश्न उठाउने, आलोचना गर्ने र समाधान प्रस्तुत गर्ने संस्कृतिलाई अझ जिम्मेवार ढङ्गले अघि बढाउन आवश्यक रहेको बताए।
उनले भने, ‘हामी लोकतान्त्रिक ढंगले चुनावमा गएका छौँ । हारजित स्वाभाविक हो, तर त्यसपछि सबै फेरि एउटै उद्देश्यका लागि एकै ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो महाधिवेशनले दिएको छ ।’
उनले महाधिवेशन व्यवस्थापनको कमजोरीका कारण आफ्नै प्रतिनिधि र कार्यकर्ताले अनावश्यक सास्ती भोग्नुपरेको बताए ।
उनले भने, ‘लापरबाही यो हदसम्म पनि हुँदोरहेछ । हाम्रै कमजोरीका कारण आफ्नै प्रतिनिधि र साथीहरूलाई यति धेरै दुःख दिइरहेका रहेछौँ भन्ने कुरा हामीले दुःखका साथ सिकेका छौँ । यसलाई दस्तावेजीकरण गरेर सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
पार्टीले प्रविधिमै आधारित काम गर्ने दाबी गरे पनि आफ्नै महाधिवेशनको व्यवस्थापन कमजोर हुनु लज्जास्पद भएको बताए। उनले आगामी दिनमा यस्ता कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे ।










