३० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीलाई लिएर प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय पद्धतिको मर्यादा र नागरिकमा छरेको निराशाका बारेमा सजग गराएका हुन्।
उपसभापति शर्माले सभापति रवि लामिछानेलाई मेन्सन गर्दै प्रधानमन्त्री बालेन्द्र साह ‘उहाँको समन्वयमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनी प्रश्न गरेका छन्। संसदीय पद्धति आफैँ सुन्दर नबन्ने र यो पूर्णतः राजनीतिक नेतृत्वको व्यवहारमा निर्भर हुने शर्माको तर्क छ। उनले गत फागुन २१ गते विकसित भएको राजनीतिक विश्वासको वातावरण भत्किँदै गएको र यसले नागरिकमा निराशा पैदा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ प्रधानमन्त्री ? संसदीय पद्धति आफैँ सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो व्यवहारमा। फागुन २१ को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुन सक्दैन ! सजग बन्नुस् र बनाउनुस्। पूर्वाग्रहबिना खुला सुझाव !’










