२३,वैशाख काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रतिनिधि सभा सदस्य (सांसद) आरेन राईले आफ्नो पार्टीले गरिब र सुकुमबासीका पक्षमा सधैँ आवाज उठाउने बताए । खोटाङबाट निर्वाचित सांसद राईले गरिब र सीमान्तकृत समुदायको आवाज उठाउनकै लागि आफू सांसद भएको बताए ।
जातीय विभेदविरुद्ध आवाज उठाइरहेका २९ वर्षीय राई पछिल्लो पटक डोजर चलाएका राजधानीका विभिन्न स्थानमा पुगेर सुकुमबासीहरूलाई सान्त्वना दिइरहेका भेटिन्छन् । विनाविकल्प सुकुमबासीहरूलाई हटाएको भन्दै श्रम संस्कृति पार्टीले पछिल्लो समय खुलेरै विरोध गरिरहेको छ । सुकुमबासीहरूको हकका लागि आफू र आफ्नो पार्टी लड्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।
‘हामी भ्रष्टाचार गर्दैनौँ, देश बेच्न पनि दिदैनौँ,’ रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि कुराकानी गर्दै सांसद राईले भने, ‘देशको स्वाधिनताका लागि हामी लड्छौँ ।’
उनले खोटाङबाट चुनाव लड्दा आफूले जनतासँग गरेका प्रतिबद्धताहरू आफ्नो कार्यकालमा पूरा गर्ने बाचा गरे । अलपत्र परेका विकासका योजना पूरा गर्ने, बालीनालीमा लाग्ने बाँदरका समस्या समाधान गर्ने, सुशासन ल्याउने, गरिब, निमुखा, सुकुमबासीका पक्षमा आवाज उठाउने, समतामुलक समाज बनाउने जस्ता कुरामा आफूले जोड दिने उनी बताउँछन् ।
‘वर्षौंदेखि जरा गाडेर बसेका पुराना पार्टीहरूको चुनौती सामना गर्दै जिताउने खोटाङका जनताहरुलाई निरास बनाउँदिनँ,’ राईले भने ‘देशको गरिबी, अभाव, विभेद लगायत अनगिन्ती समस्या देखेर म राजनीतिमा आएको हो । जस्तोसुकै परिस्थितिमा पनि म डग्मगाउँदिनँ ।’
सांसद बनेर देश बचाउने, देश बनाउने र भ्रष्टाचार नगर्ने कुरामा आफू दृढ रहेको उनले बताए ।











