१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का राखेर जान पाएको भए कम्तीमा ७० सिट आउने दाबी गरेका छन् । मंगलबार धुम्बाराहीको स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताको भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ गर्दै नेता खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको बताएका हुन् ।
‘सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७० कांग्रेस आउथ्यो,’ खड्काले भने, ‘अहिलेकै चुनावको उम्मेदवारको अवस्थामा पनि हामी ५०/६०मा पुग्थ्यौं । चुनावको परिणाम अर्कै हुन्थ्यो । आज जे भोग्नुपर्यो देशले त्यो भोग्नुपर्ने थिएन ।’
यसैले पार्टी चुनावी हारको मूल कारण विशेष महाधिवेशन गर्ने नेताहरूकै जिम्मामा रहेको उनले आरोप लगाए । ‘त्यही विशेष महाधिवेशन नै कांग्रेसका लागि चुनावको गाह्रो बन्यो । चुनावमा नेपाली कांग्रेसको जुन दुर्गति भएको छ, त्यसको मूल कारण विशेष महाधिवेशन हो,’ उनले भने ।
पार्टीको यो अवस्थाका मुख्य दोषी पनि विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै रहेको उनले किटान गरे । उनले भने, ‘विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै मुख्य दोषी हुन् ।’
विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै वचन तोडेर धोका दिएको पनि उनले बताए । त्यसको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको उनको भनाइ थियो ।











