काठमाडौं । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रा. लि. को आयोजनामा यही चैत १ गतेदेखि २४ गतेसम्म बुटवल–११ देवीनगर रंगशालामा ‘बुटवल महामेला–२०८२’ आयोजना हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष गोविन्द भुसालले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
आर्थिक मन्दीका कारण केही समयदेखि सुनसान जस्तै बनेको बुटवल बजारलाई पुनः चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महामेला आयोजना गरिएको उनले बताए।
मेलामा राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल केन्द्रीय समिति र राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेश सह–आयोजकको भूमिकामा रहेका छन् भने बुटवल उपमहानगरपालिका संरक्षकको रूपमा रहनेछ।
मेलाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम तय गरिएको छ।
महामेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, मेलाको आकर्षणका रूपमा बुर्ज खलिफा, सिंहदरबार, धरहरा र बुद्ध मूर्तिसहित लुम्बिनी क्षेत्रको झल्को दिने संरचना निर्माण गरिने बताइएको छ।
त्यसैगरी मेलामा जलपरी–जलपरा कपल डान्स, बाल उद्यान, सर्कस, टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता पनि आयोजना गरिनेछ। मेलामा विभिन्न प्रकारका करिब १२० वटा स्टल रहनेछन्।
आयोजकका अनुसार मेलामा करिब ५ लाख दर्शक सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।










