काठमाण्डौं, २४ माघ । दशौँ संस्करणको आइसीसी टी–२० विश्वकप आजदेखि औपचारिक रुपमा भारत र श्रीलंकामा शुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटनको दिन तीन खेल आयोजना हुँदै छ। श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम (वा सिन्हलीज स्पोर्ट्स क्लब ग्राउन्ड) मा पाकिस्तान र नेदरल्याण्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ।
अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड (कोलकाताको इडेन गार्डेन्समा) तथा आयोजक भारत र अमेरिकाबीच (मुम्बईको वानखेडे स्टेडियममा) प्रतिस्पर्धा हुनेछ। भारतले यहीँ उद्घाटन समारोहसँगै आफ्नो उपाधि रक्षा अभियान शुरु गर्नेछ।
यो संस्करणमा राजनीतिक तनावले पनि प्रभाव पारेको छ। पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल नखेल्ने अडान लिएपछि उनीहरू विश्वकपबाट बाहिरिएका छन्। आइसिसीले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गरेको छ।
कुल २० राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यो छोटो फर्म्याटको विश्वकप करिब एक महिनासम्म (मार्च ८ सम्म) चल्नेछ। प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। २० टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा पाँच टोली छन्, जसले एकअर्कासँग एक एक खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।











