काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले हिजो काठमाण्डौमा गरेको ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उहाँले यस्तो बनाउनुभएको हो ।
कार्यक्रममा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, नवयुवाका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले अर्थतन्त्रका समस्यालाई आत्मसात् नगरिए समृद्धि हासिल नहुने र दीर्घकालिन विकास तथा प्रगति नहुने बताउनुभयो । अब सबैको जोड समृद्धि, विकास र शान्ति सुव्यवस्था हुनुपर्ने उनीहरुको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले अहिलेको सरकारको मुख्य दायित्व चुनाव गराउने भए पनि निजी क्षेत्रसँग सहकार्य गरी सुधार प्रक्रिया शुरू गरेको बताउनुभयो । नवयवाको आन्दोलनमा पीडित व्यवसायीलाई पुनर्स्थापनामा सघाउने भन्दै उहाँले निजी प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संरक्षण, प्रोत्साहन र लगानीमैत्री वातावरण नबनाए विकास र समृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएन भने समृद्धि भाषणमा मात्रै सीमित हुने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिका लागि निजी क्षेत्र संरक्षणको विषय अझै पनि ओझेलमा परेको बताउनुभयो ।
निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको उहाँको भनाइ छ । निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको भन्दै उहाँले गलत काम गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढ्नु स्वाभाविक भएको बताउनुभयो । सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा–व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म देशमा लगानी नहुने र लगानी नभई रोजगारी तथा आयस्तरमा सुधार हुन नसक्ने उहाँको भनाइ छ ।
राजस्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रको मनोबल इतिहासमै सबैभन्दा न्यून बिन्दुमा पुगेको भन्दै ढकालले लुटपाट तथा आगजनीमा संलग्न व्यक्तिहरुलाई आवश्यक कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले देशमा लगानीको वातावरण भएको भन्दै निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो ।
तथ्यांकले नै लगानीको वातावरण रहेको पुष्टि गरेको दाबी गर्दै उहाँले वर्तमान सरकार थप लगानीको वातावरण बनाउन लागिपरेको बताउनुभयो । उद्योग वाणिज्य महासंघको अध्ययन अनुसार नवयुवा आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको छ भने झन्डै ८१ अर्ब रुपैयाँ बराबरको नोक्सानी निजी क्षेत्रले बेहोर्नु परेको छ ।










