कार्यालय समयमा बाहिर गएर सेवा दिने गतिविधि तत्काल बन्द गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले कार्यालय समयमा अस्पताल बाहिर गएर सेवा दिने गतिविधि तत्काल बन्द गर्न चिकित्सकहरुलाई कडा निर्देशन दिएकी छन ।

बुधबार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक निरीक्षण तथा अनुगमन गर्दै मन्त्री शर्माले सेवा प्रवाहमा देखिएका कमजोरीप्रति असन्तुष्टि प्रकट गर्नुभयो । निरीक्षणपछि अस्पतालका चिकित्सक तथा व्यवस्थापनसँगको छलफलमा मन्त्री शर्माले सरकारी अस्पतालमा चिकित्सकहरू कार्यालय समयमा समेत नभेटिने गुनासो बारम्बार आउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहनु आवश्यक रहेको बताइन । सरकारी अस्पतालमा सेवा लिन आउने गरीब तथा विपन्न बिरामीले छिटोछरितो उपचार पाउनुपर्ने भन्दै उनले त्यसका लागि सबै स्वास्थ्यकर्मीले सेवा प्रवाहमा थप सक्रियता देखाउनुपर्ने धारणा राखिन ।

सो क्रममा कोशी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाले स्थान अभावका कारण आवश्यक सेवा विस्तार गर्न कठिनाइ भएको बताईन । निरीक्षणका क्रममा मन्त्री शर्माले अस्पतालमा निर्माणाधीन भवनहरूको प्रगति, आवश्यक संरचनाको अवस्थाबारे विस्तृत जानकारी लिएकी थिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्