काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र उत्पन्न विवाद मिलाउन सक्रिय भएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएर पछाडि बसेका देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘सकारात्मक हस्तक्षेप’ गर्न आग्रह गरेपछि नेतृत्वमै सक्रिय हुन पुगेका हुन्।
संस्थापन पक्षका केही नेताले खड्काबाट कार्यवाहक भूमिकासहितको अधिकार फिर्ता लिएर केन्द्रीय समिति बैठक सञ्चालन गर्न सुझाव दिए पनि देउवाले सो प्रस्ताव स्वीकार गरेका छैनन्।
यसअघि अनौपचारिक भेटघाटमा सीमित रहेका देउवाले विवाद समाधानका लागि नेता रमेश लेखकलाई औपचारिक वार्ताका लागि खटाएका थिए।
लेखकले पुस मसान्तभित्रको कार्यतालिका ल्याएर विशेष महाधिवेशन पक्षधरलाई फिर्त्याउन सकिने सम्भावना प्रस्तुत गर्दै बिहीबार नेतृत्वलाई ‘ब्रिफिङ’ गरेका थिए।
बिहीबार साँझ देउवाले महामन्त्रीद्वयलाई निवासमा डाकेर छलफल गरेका थिए। तर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन रोक्ने अवस्था नरहेको स्पष्ट बताएका थिए।
देउवाले शुक्रबार ,कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापति धनराज गुरुङ,महामन्त्रीद्वय थापा र शर्मा,तथा संस्थापन पक्षका चर्चित ‘सात भाइ’
लाई विस्तारित छलफलका लागि डाकेका छन्।
बैठकमा नेता लेखक तथा केही अन्य केन्द्रीय सदस्य पनि सहभागी छन्। उक्त छलफललाई पार्टीभित्रको शक्ति–समायोजन र विशेष महाधिवेशन विवाद समाधानतर्फ निर्णायक मोड दिने बैठकको रूपमा हेरिएको छ।











