चुनावमा सहभागी हुन एमाले नेताहरुलाई प्रम कार्कीको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री निबास बालुवाटारमा एमालेका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले निर्वाचनको उचित बातावरण बने आफुहरु भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिनुभयो । उहाले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताउनुभयो । उहाले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगाएतका बिषयमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । उहाले संसद पुनस्थापनाका बिषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि सबै बिषय निर्धारण हुने जिकिर गर्नुभयो ।

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको जानकारी दिनुभयो । एमाले नेताहरुले आफुहरु निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताउनुभयो । उहाले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरुसंग भेटेपछि धेरै कम भएको महशुस भएको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्